सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्‍याउन जरुरी छ : प्रवक्ता कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताउनुभएको छ।

मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रह समेत गर्नुभयो । रेडियो नेपालको ७२औं वार्षिकोत्सवको अवसर पारेर आईतबार सिंहदरवारमा आयोजित एक समारोहमा बोल्दै उहाँले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्‍याउन जरुरी रहेको पनि बताउनुभयो।

सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाई थियो। उहाँले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गर्नुभयो । मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री कार्कीले राष्ट्रको धरोहरको रुपमा रहेको रेडियो नेपाललाई थप उचाईमा लैजान सरकार लागि परेको उल्लेख गर्दै यसमा रेडियो नेपालमा आवद्ध सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरुले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार