ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल

कैलाली । एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बताउनुभएको हो।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनम एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भन्नुभयो, ‘प्रतिगामीका विरुद्धमा अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य हुन्छ, त्यसका लागि हामी छलफलमै छौं।’ उहाँले स्थानीय निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक पार्टीबीच तालमेल हुने बताउँदै भन्नुभयो, ‘प्रतिगमनका विरुद्धमा हामी अग्रगमनकारीबीच तालमेलको सहमति हुन्छ, त्यसलाई इमानदारीका साथ सबैले पालना गर्नुपर्छ।’

अध्यक्ष नेपाल कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दसहित सोही नगरपालिकाका अधिकांश वडा अध्यक्षलाई पार्टी प्रवेश गराउन सुदूरपश्चिम पुगेका अध्यक्ष नेपालले समाजवादीमा प्रवेश गर्नेको देशभर लहर चलेको पनि बताउनुभयो। एकीकृत समाजवादीमा प्रवेश गर्नेको जनलहर देखेर केपी ओलीको दिमाग हडबडिएको बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रोमा प्रवेश गर्नेहरूलाई ओली समूहले न्वारानदेखिको बल लगाएर रोक्ने प्रयास गरिरहेका छन्। तर पनि कुनै पार लाग्नेवाला छैन।’

आफ्नो पार्टी सही विचार, सही नीति, सही मूल्य र मान्यताले अघि बढेकाले पार्टीप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको नेता नेपालले बताउनुभयो।उहाँले भन्नुभयो, ‘हाम्रो सिद्धान्त, विचार, नीति तथा मूल्य र मान्यता सही भएकै कारण हामीप्रति आकर्षण बढ्दो छ।’ पत्रकारहरूको जिज्ञासामा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउनु स्वाभाविक भएकाले त्यसबारे केन्द्रमा छलफल भइरहेको पनि उहाँले बताउनुभयो।

‘स्वभाविक रूपमा कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि स्थानीय निर्वाचनअगाडि या पछाडि के गर्ने भन्नेमा हामी चाँडै छलफल गर्नेछौं।’ गठबन्धनमा वडादेखि स्थानीय तहसम्मको तालमेलको कुरा अहिल्यै नभन्ने बताउँदै उहाँले भन्नुभयो, ‘कहाँ कसरी तालमेल हुन्छ, त्यो कुरा अहिल्यै भनिदियो भने प्रतिगमनकारीलाई विज्ञापन भइहाल्छ, तसर्थ त्यो अहिल्यै भन्दिनँ।’ उहाँले आफूहरूको गठबन्धनको तालमेललाई पनि गोप्य राख्न चाहेको भाव प्रकट गर्नुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार