काठमाडौँ । नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणमा श्रीलंकाको ब्लुस्टारसँग खेल्दैछ। खेल भोलि मंगलबार साँझ पाँच बजे दशरथ रंगशालामा हुनेछ।
जित हात पार्ने टिमले दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता र अर्को पोलको विजेताबीच प्लेअफ हुनेछ। प्लेअफमा जित हात पार्ने टिमले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ। समूह ‘डी’ भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ।
नेपालको लिग च्याम्पियन मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले समूह चरणमा पुग्नका लागि प्रतिस्पर्धा गर्ने बताउनुभयो। लिग सुरू भएदेखि नै एएफसी कपका लागि तयारी गरिरहेका थियौं। हामीले लिगको उपाधि रक्षा गर्नका लागि टिम बनाएका थियौं। उपाधि रक्षा गर्दै एएफसी कपमा छनोट हुने तयारी गरिरहेका थियौं। त्यहीँअनुसार हाम्रो कार्तिकदेखि तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो,’हाम्रो लक्ष्य पनि समूह चरणमा पुग्नेछ।’
मछिन्द्रको टिममा सबै खेलाडी सहिद स्मारक ए डिभिजन लिग खेलेकै छन्। लिगको दोस्रो चरणमा सुनील बल घाइते भएका थिए। अहिले उहाँले टिममा कमब्याक गर्नुभएको छ । तर, उहाँ पुरानै फर्म आउछन् या आउँदैन भन्ने चिन्तामा मछिन्द्र छ। कटुवालले श्रीलंकन टिमको बारेमा जानकार रहेको बताउनुभयो।ब्लुस्टार श्रीलंका सुपर लिगको च्यम्पियन हो। सेट टिम छ,’ उहाँले भन्नुभयो, ’जो विपक्षी परे हाम्रो लागि महत्वपूर्ण हुन्छ। घरेलु मैदानमा दबाब झेलेर खेल्छौं।’
उहाँले मछिन्द्र एएफसी कप खेल्नु नेपालका लागि राम्रो भएको बताए।हामीले प्रतियोगिता खेल्नु नेपाली फुटबलका लागि फाइदाको कुरा हो। हामी समूह चरणमा पुग्यौ भने त्यो नेपालका लागि राम्रो हो,’ उहाँले भन्नुभयो । श्रीलंकन क्लब ब्लुस्टारका प्रशिक्षकले नेपाली टिम राम्रो भएको बताउनुभयो। साथै उहाँले नेपाल र श्रीलंकाको वातावरण उस्तै भएकाले आफूलाई घरेलु मैदानमा खेलेको जस्तो हुने बताउनुभयो।
मछिन्द्र पहिलो पटक एएफसी कपका लागि छनोट भएको हो। सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने टिमलाई एएफसी कपमा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार मछिन्द्र एएफसी कपमा छनोट भएको हो।मछिन्द्रले पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको हो।
२०७६ मा लिग च्याम्पियन भए पनि मछिन्द्र २०२१ को एएफसी कप खेल्नबाट बञ्चित भएको थियो। एएफसीले क्लब लाइसेन्स नभएका क्लबलाई प्रतियोगिता खेल्न रोक लगाएको थियो । गत वर्ष लाइसेन्स पाएको त्रिभुवन आर्मी क्लबले एएफसी कपमा सहभागिता जनाएको थियो । यो वर्ष भने आर्मी, मनाङ, मछिन्द्र र एपिएफ गरी चार क्लबले क्लब लाइसेन्स पाएका थिए। पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको मछिन्द्र सन् २००४ मा पहिलो पटक ए डिभिजनमा बढुवा भएको थियो। सेतोपाटीबाट