![](https://myagdinews.com/wp-content/uploads/2021/12/thapa-kamal-2.jpg)
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनामा गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकार्नुभएको छ । राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सोमबार थापाले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको बताउनुभयो।
उहाँले सत्ताकेन्द्रित फोहोरी खेलमा अल्मलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकोले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचा गर्नुभयो । यही संकल्प गरेर राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको थापाले बताउनुभयो। नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनाउने खेल अनुसार काम भइरहेको भन्दै थापाले ठूला दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको आरोप लगाउनुभयो।
भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदुरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरु असफल दलको विकल्प हुन सक्ने दाबी गर्नुभयो । धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्वतर्फ जानेमा समेत थापाले चिन्ता व्यक्त गर्नुभयो। राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा सम्बर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पार्नुभयो । कार्यक्रममा पार्टीका उपाध्यक्ष लाक्पा तामाङ र महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल आगामी दिनमा मुलुकको बलियो राजनीतिक शक्तिको रूपमा स्थापित हुने दाबी गर्नुभयो। सेतोपाटीबाट