काठमाडौँ । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताउनुभएको हो ।
प्रवक्ता पौडेलले गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्नेसमेत बताए । दुर्गम ठाउँमा मतपत्र पुग्नका लागि धेरै समय लाग्ने भएकाले सुरुमा दुर्गम ठाउँका लागि मतपत्र छापिने उहाँले जानकारी दिनुभयो । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उहाँले बताउनुभयो । ‘मनाङ‚ हुम्ला‚ जुम्लाजस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ‚’ प्रवक्ता पौडेलले भन्नुभयो । ekantipurबाट