काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वोच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको उहाँले बताउनुभयो । ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट समय नमिल्ने भएका कारण नयाँ मिति आयो । असार ६ गते चुनाव गर्ने भनेर सहमति भएको छ । फिफाले उक्त मिति सिफारिस गरेको छ,’ शेर्पाले भन्नुभयो।
चुनावको मिति सरे पनि एन्फाले साधारण सभामा राखेका विषयबस्तुहरु भने निर्धारित समयमा हुनेछन् । एन्फा कार्यसमिति सदस्य किरण राईले चुनावको मिति सरे पनि अन्य कार्यक्रमहरु निर्धारित समय मै हुने बताउनुभयो । ‘चुनावको मिति मात्र सरेको हो । विषेश साधारणसभामा भएका अन्य क्रियाकलाप भने निर्धारित समयमा नै हुनेछन्,’ राईले भन्नुभयो । रातोपाटीबाट