अब सिञ्चाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा केन्द्रीत गर्नुपर्छ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रीत भएको उल्लेख गर्दै उहाँले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताउनुभएको हो । पहाडी र हिमाली भेगमा सिँचाइ पुर्याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हाम्रो उर्वरा जमिन एकदम घनिभूत ढंगले तराई, मधेश हो । हाम्रो सबै राष्ट्रिय गौरव लगायतका आयोजनाहरु तराई केन्द्रीत छन् । तर फेरि उर्वरा जमिन पहाडमा पनि छ । हिमाली भेगमा पनि छ । हामीले त्यसलाई पनि सम्बोधन गर्ने नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो अनुभूतिको विषय हो । अब हामीले सिँचाइको आयोजना बनाउँदा त्यो पहाडको सिँचाइ, हिमाली भेगका जग्गा जमिनमा सिँचाइको व्यवस्था पुर्याऊँ ।

हामीले सिँचाइ पुर्यायौँ भने त्यसले खाद्यान्नमा योगदान गर्न सक्नेछ । त्यसले रोजगार पनि त्यहीँ सृष्‍टि गर्छ । खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ । र अव्यवस्थित बसोवासलाई पनि रोक्न सक्छ । राष्ट्रले ठुलो लगानीमा गरेको भौतिक पूर्वाधारको पनि भरपूर उपयोग हुन्छ । त्यतातिर केन्द्रीत हौँ ।’ मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताउनुभयो ।

उहाँले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताउनुभयो । उहाँले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति कतै संकट हो कि, कतै श्रीलंका हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छ । हिजोपनि हामीले क्याबिनेटमा छलफल गरेको थियौँ । त्यत्तिको त छैन मान्छेले चर्चा गरेजस्तो ।

राष्ट्रलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउने कुरा, समृद्धिमा लाने भन्ने नारा भन्दा हाम्रो व्यवहार सबैभन्दा मुख्य हुन्छ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट आयातित चिजलाई सकेसम्म प्रयोग नगरेर देशै भित्रको चिजको खोजी गर्ने । उत्पादनमा सहभागी हुने । कृषि उत्पादनमा व्यक्तिगत हिसाबले पनि हामी नमुना बनौँ । त्यसपछि हाम्रा नीति, योजना, कार्यक्रम सबै त्यतातिर केन्द्रीत गर्ने गरेर लागौँ ।’रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार