सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य

गोरखा । गण्डकी प्रदेश सरकारका ऊर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजनक हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिनुभएको छ ।

मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागबन्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिनुभएको हो । ‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र कांग्रेस मिल्ने भए रे ।

हामीलाई साइड लगाउने भयो रे । हैन्, उहाँहरुले साइड लगाउनुभयो भने उहाँहरुलाई हैसिएत देखाउन सक्ने आधार पनि त हामीसँग छ नि । गण्डकी प्रदेशमा माओवादी र कांग्रेसबाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौँ नि,’ मन्त्री आचार्यले भन्नुभयो ।अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उहाँले प्रष्ट्याउनुभयो ।

‘अहिले हामी सरकारै ढाल्न सक्नेसम्म त सोचेका छैनौँ । तर, उहाँहरुले निहुँ नै खोज्नुभयो भने त त्यसको प्रतिशोध त साँध्नु पर्‍यो नि । त्यो गर्नै पर्‍यो । औपचारिक रुपमा त हामी त्यसरी गएका छैनौँ । तर, उहाँहरुले शंका गरिराख्नुभएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णयक छौँ र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फ्लिक्ट पनि भइराखेको त्यसो भएको कारण यसै भन्न सकिन्न,’मन्त्री आचार्यले भन्नुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार