काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले उम्मेदवार हुन् मदनसुन्दर श्रेष्ठ । उहाँ यसअघि पनि उक्त नगरपालिकाका मेयर थिए। सम्पदा संरक्षणमा राम्रो काम गरेको भन्दै युएन ह्याबिट्याटको एसिया प्यासेफिक क्षेत्रीय कार्यालयले दुई वर्षअघि उनी नेतृत्वको नगरपालिकालाई ‘एसियन टाउनस्केप अवार्ड दिएको थियो।
उहाँले पाँचवर्षे कार्यकालमा गरेका कामलाई अझ विस्तार गर्न मेयरमा दोहोरिन चाहेको बताउनुभएको छ । सोमबार उम्मेदवार मनोनयनपछि उहाँले भन्नुभयो, ‘गएको कार्यकालमा सम्पदा संरक्षणको अभियान नै बनाएर काम गर्यौं। अब मेयर जितेँ भने कतिपय पूरा हुन नसकेका संरक्षणका कामलाई पूर्णता दिन्छु। अनि तिनलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याउँछु।’
विगतमा मध्यपुर थिमिलाई भक्तपुरसँगै जोडेर हेरिने गरे पनि अहिले छुट्टै पहिचान बनाउन सफल भएको र आगामी दिनमा घुम्नलायक नगर बनाउने सपना देखेको उहाँको भनाइ छ। फेरि मेयर बन्न पाए मध्यपुर थिमिमा रहेको निलबराहीलाई चरा र सिमसार संरक्षित क्षेत्र बनाउने उहाँको सपना छ।’निलबराही जंगल र वरिपरि ५४ जातका चरा पाइन्छन्। तिनलाई जोगाउन पनि जंगल र सिमसार क्षेत्र संरक्षण गर्नु पर्छ।
वाइल्डलाइफ टुरिजम विस्तार गर्ने योजना बनाएको छु,’ श्रेष्ठले भन्नुभयो, ‘सिमसार संरक्षण गरेर चरा र पर्यटक आइरहने बनाउनु पर्छ।’अरू नगरपालिकाले १५ बेडको अस्पताल सञ्चालन गरिरहेका बेला आफ्नो नगरपालिकाले सय बेडको अस्पताल चलाएको उहाँले बताउनुभयो। नेपाल कोरिया मैत्री अस्पताल अहिले मध्यपुर थिमि अन्तर्गत सञ्चालनमा छ।
‘अहिले कोरियन सरकारले एक अर्ब रूपैयाँ जति बजेट दिएको छ। म फेरि मेयर भएर त्यो अस्पताललाई तीन सय बेड पुर्याउने सबै किसिमका स्वास्थ्य उपकरण भित्र्याउने योजनामा छु,’ उहाँले भन्नुभयो, ‘अर्को चार वर्षमा तीन सय बेडको अस्पताल र त्यसपछि मेडिकल कलेज नै बनाउने योजनाका साथ काम गर्छु भन्ने छ।’
गएको कार्यकालमा खानेपानीको संरचना सुधार गरेर पुराना बस्तीमा पानी पुर्याएको भन्दै आगामी कार्यकालमा नयाँ बस्तीमा खानेपानी पुर्याउन पूर्वाधार विस्तार गर्ने उहाँ बताउँनुहुन्छ।जापानी प्रविधि भित्र्याएर फोहोरबाट कम्पोस्ट मल बनाएको र उक्त मल बेचेर तीन करोड रूपैयाँ कमाएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘फोहोरमैला व्यवस्थापन अझै चुस्त बनाउनु छ।’उहाँले अबका पाँच वर्षमा उपत्यका विकास प्राधिकरण खारेजीको लबिङ गर्ने पनि बताउनुभयो।
‘बस्ती विकास तथा जग्गा एकीकरण नगरपालिकाहरू आफैंल् गर्न सक्छन् । त्यसैले प्राधिकरण खारेज गर्नुपर्छ भन्ने मेरो एजेन्डा हो। त्यसमा मैले उपत्यकाका अरू नगरपालिकालाई पनि जोडेर खारेज गराउने काम गर्नु पर्छ,’ उहाँले भन्नुभयो।आउँदो कार्यकालमा ‘ल्यान्डपुलिङु आयोजना कार्यान्वयन गर्ने र व्यवस्थित सहर बनाउने उहाँको योजना छ।
‘सात वटा ल्यान्डपुलिङ योजना यसअघि नै पारित गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अब तिनको कार्यान्वयनको काम बाँकी छ। मैले जितेँ भने त्यो सम्पन्न गर्ने र अरू त्यस्तै योजना बनाउने हो।’अहिले अपांगतालाई तीन किसिममा वर्गीकरण गरेर तीनै थरी स्कुल चलाएको नगरपालिकाले अब तीनवटै स्कुललाई एकीकृत गरेर एउटै प्रांगणमा बनाउनुपर्ने उहाँको भनाइ छ।
आफ्नो कार्यकालमा शिक्षा, सहकारी र स्वास्थ्य ऐन ल्याउन नसकेको भन्दै अब बहुमतसहित जितेमा कानुन निर्माण गर्ने उहाँको चाहना छ। विद्यार्थी संख्या धेरै भएका ठाउँमा शिक्षकको दरबन्दी मिलान, संस्थागत र निजी विद्यालयको पढाइ सुधारमा सहकार्य गराएर शिक्षा गुणस्तरीय बनाउने योजना उहाँले बनाउनुभएको छ ।
यसअघिको कार्यकालमा १३ वटा पार्क बनाउने योजना थियो उहाँको, पाँच वटा मात्र बने। अब जिते १३ वटै पार्क बनाउने र खुला ठाउँ संरक्षण गर्ने सोचेको छु,’ उहाँले भन्नुभयो, ‘म मेयर भएपछि मध्यपुर थिमिमा रूपान्तरण नै भएको छ। सम्पदा र पूर्वाधारमा राम्रो काम भएको छ। फेरि मेयर बन्नु पर्छ भन्ने जनआवाज सुनेर उम्मेदवारी दिएको हुँ । बहुमतसहित जितियो भने धेरै काम गर्न सकिन्छ।’ सेतोपाटीबाट