जनकपुरधाम । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना युवकको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । बिहान करिब साढे ३ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुने जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । उहाँका अनुसार मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन। मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो। सेतोपाटीबाट