कीर्तिपुरको एकै वडामा एमालेका दुई जनाको उम्मेदवारी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको एक वडामा नेकपा एमालेको वडाध्यक्ष उम्मेदवार सिफारिसमा विवाद भएको छ। एउटै पार्टीबाट वडा नम्बर ९ मा दुई जना व्यक्ति सिफारिस भएपछि विवाद भएको हो । एमालेबाट सोमबार निर्वाचन अधिकृतको कार्यालयमा निर्वतमान वडाध्यक्ष गंगाराम महर्जन र संजयमान महर्जन सिफारिस पत्र लिएर पुग्नुभएको थियो ।

कार्यालयले एमालेकै सिफारिसअनुसार गंगाराम महर्जनको उम्मेदवारी दर्ता गर्‍यो। तर फेरि एमाले नगर कमिटीकै सिफारिस लिएर संजयमान महर्जन उम्मेदवारी लिएर अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । दुबै जनाले एमाले नगर कमिटीको आधिकारिक पत्र लिएर आउँदा विवाद भएको कीर्तिपुर निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो।

‘नेकपा एमालेबाट दुई जना पार्टीले सिफारिस गरेको पत्र, सबै कागजातसहित उम्मेदवारी दिन आउनुभएको थियो। हामीले सबैभन्दा पहिला जो आउनुभयो उहाँको कम्प्युटरमा इन्ट्री गर्‍यौं,’ घिमिरेले भन्नुभयो, ‘सुरूमा आउने गंगाराम महर्जनको इन्ट्री गर्‍यौं। पछि आउनेको इन्ट्री गर्दा कम्प्युटरले पनि लिँदैन। तर उहाँहरू दुबै जनाको सिफारिस छ।’संजयमानको उम्मेदवारी लिएको तर दर्ता गरिनसकेको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको पत्रमा पनि वडा नम्बर ९ को वडाध्यक्षमा संजयमान महर्जनलाई नै सिफारिस गरिएको उल्लेख छ। निर्वाचन अधिकृत कमला घिमिरेका अनुसार अहिले दुबै जनाले उजुरी दिने तयारी गरिरहेका छन्। त्यसबारे निर्वाचन आयोगले अध्ययन गरेर थप निर्णय लिने उहाँले बताउनुभयो । यता गंगाराम महर्जनले आफूलाई नगर कमिटीले सिफारिस गरेको हुँदा उम्मेदवारी दिएको बताउनुभयो।

‘नगर कमिटीले मलाई उम्मेदवार छनोट गरेर मनोनयन पत्र दिएर, नगर कमिटीका अध्यक्षले हस्ताक्षर गरेर पठाउनुभएको थियो,’ उहाँले भन्नुभयो,‘त्यसैले मैले उम्मेदवारी दिएको हुँ। फेरि केही घन्टापछि अर्कोले कसरी उम्मेदवारी दिन गएको बुझियो।’एमालेले मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा विन्दु महर्जनलाई सिफारिस गरेको छ।

मेयरका उम्मेदवार बज्राचार्यले वडा नम्बर ९ का वडाध्यक्षका आधिकारिक उम्मेदवार संजयमान महर्जन भएको बताउनुभयो । पार्टी कार्यालयमा जाँदा त्यहाँ होहल्ला भयो। नगर कमिटी अध्यक्ष र अरू केही साथीहरू हुनुहुन्थ्यो। त्यसैबीच घम्साघम्सी पनि भएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यहीबेला पार्टीको आधिकारिक पत्र लिएर उम्मेदवारी दिन जानुभयो । तर आधिकारिक रूपमा संजयमानलाई सिफारिस गरेको थियो।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार