घर-घर गएर घुसघुस गर्दिनँ, प्रचार गर्न दैनिक १० घण्टा अनलाइन बस्छु : स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार केशव स्थापित सधैँ चर्चामा रहनुहुन्छ । उहाँलाई चर्चा भए पुग्छ, नेगेटिभ होस् कि पोजेटिभ । उम्मेदवारी दर्ताकै दिन उहाँले ‘विवाद नभए के को केशव स्थापितु भन्दै सार्वजनिक टिप्पणी गरिसक्नुभएको छ ।

२०५४ सालमा निर्वाचित भएर र राजाको प्रत्यक्ष शासनकालमा गरी दुई पटक काठमाडौंका मेयर भएका स्थापित तेस्रो पटक मेयर बन्ने दौडमा हुनुहुन्छ ।यसपटक स्थापित मत माग्न घरदैलो गर्ने मुडमा छैनन् । बरू अनलाइनबाटै मतदातासम्म पुग्ने उहाँको तयारी छ । राजधानीको होटल एलो प्यागोडामा उहाँले निर्वाचन प्रचारका लागि ‘वार रूम’  को व्यवस्थापन गरिसक्नुभएको छ ।

‘मलाई यसपटक वडावडामा गएर ढोकैपिच्छे नमस्कार नगरौं भन्ने लागेको छु, स्थापितले भन्नुभयो, ‘इट्स वेस्ट अफ टाइम। बुढाबुढीले पनि मोबाइल हेर्छ। युवाहरूले हेर्छ।’ उहाँले मतदातासँग अनलाइन कुराकानी गर्ने गरी आफूले वार रूम व्यवस्थापन गर्न लागिरहेको बताउनुभयो। ‘म उपलब्ध छु लाइभ स्क्रिनमा आऊ भन्ने नि’, स्थापितले भन्नुभयो, ‘दोहोरो कुरा दिनको हजाररदुई हजार जनासँग कुरा गर्न पाए भइहाल्यो नि।

त्यो सबैले अनलाइन हेरोस्। दिनको १० घण्टा स्क्रिनमा बस्यो । वान अन वान कुरा गर्छु।’अनलाइनमा आफू सबै प्रश्नको सामना गर्न तयार रहेको उहाँ बताउँनुहुन्छ । जो–जो कुरा गर्ने हो आऊ भन्ने। गाली गर्ने भए पनि आऊ भन्ने । लाइभ गरिराखौं दिनभर भन्ने मेरो कन्सेप्ट हो’, स्थापितले भन्नुभयो, ‘सभागृहमा मेयरको सुनुवाइ भनेर मैले हरेक दिन ३ घन्टा कार्यक्रम गरें। यस्तो कार्यक्रम ४ महिना गरें। जो आए पनि हुने जे सोधे पनि हुने व्यवस्था गरियो।’

स्थापित घरघरमा गएर घुसघुस गरेर आश्वासन दिने आफ्नो कार्यशैली नभएको बताउँनुहुन्छ। ‘मेरो कार्यशैली फरक छ। घरमा गएर घुसघुस गरेर आश्वासन दिनुभन्दा अनलाइन चेक गरे भयो’, स्थापितले भन्नुभयो, ‘त्यस्तो निर्वाचन प्रचारको कार्यक्रमको डिजाइन गर्दैछु।’स्थापितसँग यसपटक काठमाडौंमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । उहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीकी पनि उम्मेदवार हुनुहुन्छ । त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाह, राप्रपाका मदनदास श्रेष्ठ र विवकेशील साझाकी समीक्षा बाँस्कोटा प्रतिस्पर्धामा हुनुहुन्छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार