गठबन्धन बालुवा र तासको घर : पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गर्नुभयो ।

‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भन्नुभयो । उहाँले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताउनुभयो ।

‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठुलो भुल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उहाँले भन्नुभयो । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताए । ‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उहाँले भन्नुभयो ।

पौडेलले कुनै पनि खालका भ्रम र आशंका नपाली चुनावमा दिनरात खटिन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘रुपन्देहीको तिलोत्तमा देशकै नमुना नगरपालिका बनेको छ, त्यो एमाले नेतृत्वको स्थानीय सरकार भएको कारणले भएको हो, राम्रो काम गर्दागर्दै चुनाव हार्ने सम्भावनै रहँदैन,’ पौडेलले भन्नुभयो। उपाध्यक्ष पौडेल केही दिनदेखि रुपन्देहीका स्थानीय तहहरुमा चुनावी माहौल बनाउन सक्रिय हुनुहुन्छ । उहाँले सत्ता गठन्धनभित्रका धेरै नेता कार्यकर्ता एमालेमा आउन चाहिरहेको भन्दै यसको नतीजा चुनावपछि देखिने पनि बताउनुभयो ।

एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सरकारमा रहँदा गरेको राम्रा कामका कारण जनतामा एमालेप्रतिको आकर्षण बढेको बताउनुभयो । अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपानेले मार्क्सवाद र साम्यवादको झोला बोकेर रुखमा भोट हाल्दै समाजवादमा पुग्छौं भन्नेहरूको सपना तुहिन लागेको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार