काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र माथि गरेको टिप्पणी निर्वाचन आचार संहिता विपरीत र आपत्तिजनक रहेको बताउनुभएको छ । उहाँले ओलीको टिप्पणीमाथि खेद् प्रकट गर्नुभयो ।
केन्द्रीय प्रचार प्रसार समितिले मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा प्रवक्ता महतले पार्टीले शालिनतापुर्वक निर्वाचन अभियान सञ्चालन गरेको दाबी गर्नुभयो । देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति आएकोे छ । सामान्य अवस्थामा पनि बोल्न नहुने उहाँको अभिव्यक्ति खेदजनक छन्,’ उहाँले भन्नुभयो, ‘यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’
एमाले अध्यक्ष ओलीले मंगलबार एक कार्यक्रममा काग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरुको प्रलाप भनेर टिप्पणी गर्नुभएको थियो । प्रवक्ता महतले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने सरकार भएकाले कांग्रेसले स्थानीय आश्यकता र नागरिकका चाहना संबोधन गर्ने गरी स्थानीय तहमा पनि घोषणापत्र ल्याउने बताउनुभयो । ekantipurबाट