![](https://myagdinews.com/wp-content/uploads/2022/04/hemanta.jpg)
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै स्टेप चाल्ने ओलीले बताउनुभयो ।‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरुसँग भोलि नै बस्छौ । छलफल गरेर निर्णय गर्छौ ।’ ओलीले भन्नुभयो, ‘हामी नयाँ पार्टी बनाउने भन्दा पनि पार्टीमा बहुमत छौ । विचारधारात्मक सर्वोच्चता कायमै छ । त्यसअनुसार उहाँहरुको प्रस्ताव अस्वीकृत भएको छ ।
त्यो म्यान्डेट लिएर जान्छौ । साथीहरुसँग छलफल गरेर छिट्टै निर्णय लिन्छौ ।’केन्द्रीय समितिमा बहुमत पुगेमा विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई कारवाही गरेर जाने स्थिति समेत हुन सक्ने ओलीले बताउनुभयो । केन्द्रीय समितिबाट तत्काल जुन विधि अपनाउँदा हुन्छ त्यहीँ विधि अपनाएर जाने बताउनुभयो । पार्टीभित्र भएका गलत प्रवृत्ति विरुद्ध भण्डाफोर गरेर जाने ओलीले बताउनुभयो । रातोपाटीबाट