![](https://myagdinews.com/wp-content/uploads/2021/12/sher-bdr-deuba-.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार वक्तव्य जारी गर्दै देउजाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ ।
नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको उहाँले बताउनुभएको छ ।
एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उहाँले भन्नुभएको छ, ‘पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’
तर कांग्रेसका नेता कार्यकर्ताले पार्टीको निर्णय र गठबन्धनको सहमति विपरित स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भन्दै देउवाले विज्ञप्तिमा भन्नुभएको छ , ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिई दिनु हुन हार्दिक अपिल गर्दछु ।’ अनलाइनखबरबाट