मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौँला अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ। उहाँले आज मनाइँदै गरिएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै श्रमिकहरूलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको हो ।
प्रदेश प्रमुख शर्माले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का सन्दर्भमा सम्पूर्ण श्रमजीवीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । साथै, श्रम अधिकार सुनिश्चितताको लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने नाराका साथ उठाइएको सङ्घर्षबाट प्राप्त अधिकार उपयोग गर्ने दिनका रूपमा आजको दिनलाई श्रमिक दिवस भनेर स्मरण गर्ने गरिएको शर्माले बताउनुभएको छ । मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिक वर्गको अतुलनीय भूमिका रहेको प्रष्ट पार्नुभएको छ । रातोपाटीबाट