काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उहाँमाथि स्पष्टीकरण सोध्नेछ ।
‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ आयोग स्रोतले भन्यो, ‘आजै प्राप्त हुने प्रतिवेदनलाई आयोगको बैठकमा पेस हुने र सोधपुछ गरिनेछ ।’
कांग्रेस नेतृ राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । उहाँले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गर्नुभएको थियो भने कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह गर्नुभएको थियो ।
त्यसपछि उनले कैलालीमा निर्वाचन प्रचारप्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन दिएनुभएको थियो । उहाँ सांसद बाहेक राज्यको पदमा नरहेकाले सर्वसाधारणको हैसियतमा सोधपुछ गर्ने आयोगको तयारी छ । प्रतिनिधिसभा सदस्य(सांसद०लाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुने रोक नभए पनि आचारसंहिताले बन्देज लगाएका क्रियाकलाप गर्न पाइँदैन । अनलाइनखबरबाट