बुटवल । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ ।
वडा नंं. १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेपछि गणना स्थगित भएको हो ।
कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर तथा एमाले उम्मेदवारको १६६ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको पाइएको मतगणनास्थलमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधि प्रकाश गौतमले बताउनुभयो । ‘गणकहरुले सरासर बदमासी गरेको भेटिएपछि विरोध भएको हो,’ उहाँले भन्नुभयो, ‘धाँधली गर्ने कर्मचारीमाथि छानबिन र कारबाही हुनुपर्छ ।’
निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले पनि अभिलेख राख्नेक्रममा त्रुटी भएको स्वीकार गरेका छन् । स्थगित मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।तिलोत्तमाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनका रामकृष्ण खांण र एमालेका मोहन चापागाईंबीच तीव्र प्रतिस्पर्धा छ । वडा नंं। १ र १७ को मत गनिसक्दा १ मा एमाले र १७ मा कांग्रेस विजयी भएका छन् । तिलोत्तमामा १७ वटा वडाहरु छन् । अनलाइनखबरबाट