काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण माग गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन निर्देशिका विपरीत गतिविधि गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण माग गरेको हो ।
निर्देशिकाको व्यवस्था प्रतिकुल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टी सहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अकै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सहि विवरण तयार नगर्ने, मतपत्रमा मत संकेत गर्न रबरको स्वस्तिक छाप दिनु पर्नेमा पित्तलको स्वस्तिक छाप दिने काम कर्मचारीबाट भएको छ ।
यस्तै सहि किसिमले मुचुल्का तयार नगर्ने, सुरक्षण सिलहरू सही ढङ्गले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको संख्या र कम्प्यूटरमा प्रविष्ट संख्या फरक पार्ने, मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाई गर्ने काम पनि भएका छन् । उपयुक्त गल्तीसहित स्थानीय तह निर्वाचन मतगणना निर्देशिका, २०७८ विपरित मतपत्र सदर वा बदरको निर्णय गर्नेलगायतका गम्भीर प्रकृतिका गल्तीहरू समेत कर्मचारीले गरेको पाइएको आयोगले जनाएको छ ।
मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका यस प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित भइरहेको भन्दै आयोगले यस प्रकारका गम्भीर त्रुटि गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । रातोपाटीबाट