काठमाडौँ । अन्तरजातिय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइने भएको छ। जात व्यवस्था उन्मुलन मोर्चाले जेठ १० गते ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा घोषणा गरेको हो।
दुई वर्षअघि अन्तरजातिय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको थियो। ‘छ जना युवाहरूले एउटा विद्रोह गरेर जात व्यवस्थाको कारण बलिदान दिएका छन्।
गैरदलित युवाहरूको समेत बलिदान रहेको कारण उक्त दिनलाई शक्तिमा बदल्ने उद्देश्यले दिवसको रूपमा मनाउन लागिएको हो,’ मोर्चाकी केन्द्रीय सदस्य रूपा सुनारले भनिन्।पीडितहरूले अझै पनि न्याय नपाएको कारण उनीहरूको न्यायको लागि पनि यो दिवस विशेष रहेको उनले बताइन्। मोर्चाले उक्त दिवसलाई मंगलबार काठमाडौंस्थित माइतीघर लगायत सातै प्रदेशमा मनाउँदैछ। सेतोपाटीबाट