काठमाडौँ । काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको हो ।
काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गर्नुभएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तोकिए बमोजिम तयार गरी प्रकाशन गर्न पर्न र दफा २६ मा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भएका उम्मेदवार र दलले निर्वाचन चिन्ह पाउने कानुनी व्यवस्थाको आलोकमा दफा ५१(१)(ङ) लाई हेरिन र व्याख्या गरिनु पर्ने उहाँको जिकिर छ ।
यसरी उम्मेदवारी परी, अन्तिम भइ, निर्वाचन चिन्ह प्राप्त गरेका उम्मेदवारलाई नै मतदाताले मतदान गर्ने भन्दै उहाँले मतपत्रमा उम्मेदवार नै नभएका खाली कोठामा निर्वाचन चिन्ह राखिनु दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय विपरीत हुने श्रेष्ठको जिकिर छ । उम्मेदवार नै नभएका उपमेयरको रूख चिन्हमा मत सङ्केत हुँदा आफू उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेकोप्रति उहाँको असन्तुष्टि छ । यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको उहाँको जिकिर छ ।
‘तसर्थ स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुने गरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ’, उहाँको निवेदनमा भनिएको छ। रातोपाटीबाट