बालेनलाई शुभकामना दिंदै स्थापितले भने : सकारात्मक काममा सहयोग र कमजोरीमा निरन्तर खबरदारी

काठमाडौं । काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका एमाले उम्मेदवार केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिनुभएको छ ।

उहाँले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताउनुभएको छ । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उहाँले बताउनुभएको छ ।

‘काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,’ विज्ञप्ति निकालेर स्थापितले भन्नुभएको छ, ‘पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु ।’

जनताको सेवक भएर काम गर्ने आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेको भन्दै स्थापितले आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएकोले हार(जितलाई सामान्यरुपमा लिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो ।

त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’काठमाडौंको विकास र समृद्धिप्रतिको आकाङ्क्षा अलिकति पनि नधरमराएको उहाँले बताउनुभएको छ । स्थापितले उपमेयरमा विजयी सुनिता डंगोलसहित अन्य जनप्रतिनिधिलाई पनि शुभाकामना दिँदै सबैको साझा जनप्रतिनिधि भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार