सीके राउतले २० लाख जनासँग हात मिलाए तर निर्वाचनमा पार्टीलाई सवा लाख मतमात्र

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय चुनावको बारेमा समीक्षा सुरु गरेको छ । जिल्ला जिल्लाबाट समीक्षाको रिपोर्ट केन्द्रमा पठाउन थालेका छन् । जिल्लास्तरमा भएको समीक्षा अनुसार जनमत पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षा अनुसार मत पाएन । आकलन गरिएको मत पार्टीलाई नआएपछि ती मत कहाँ गए भन्नेबारे पार्टीले खोजी सुरु गरेको छ ।

पार्टीमा आन्तरिक रुपमै धोका भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताउनुभयो। उहाँले भन्नुभयो, ‘जनमत पार्टीमा कतिपय मत प्रस्ट देखिएका छन्, ती मत पनि नआएको देखिन्छ । ती मत कहाँ गए, किन आएन भन्नेबारे समीक्षासहित खोजी हुन्छ ।’ जनमत पार्टीले विभिन्न अभियान चलाएर पाँच लाखभन्दा बढी सदस्यता वितरण गरेको थियो तर स्थानीय तह निर्वाचनमा एक लाखभन्दा केही बढी मत मात्र आएको छ । यो आत्मसमीक्षाको विषय बनेको सिंहले बताउनुभयो ।

गैरआवासीय मधेसी संघसँग आवद्ध लाखौ सदस्य छन् । उनीहरुको सेवामा जनमत पार्टी दिनरात लागिरहे पनि त्यहाँबाट समेत सहयोग नआएको आफूहरुको आन्तरिक समीक्षा रहेको उहाँले बताउनुभयो । ‘जनमत पार्टी संगठित पार्टी हो, त्यसका आफ्नै संगठित सदस्य छन् तर ती मत पनि पार्टीलाई नआएका कारण त्यसको निर्मम ढंगले समीक्षा हुन्छ,’ महासचिव सिंहले भन्नुभयो । जनमत पार्टीले स्थानीय निर्वाचनमा करिब एक लाख १५ हजार मत पाएको छ ।

जनमत पार्टीले विदेशमा बस्ने गैर आवासीय मधेसीको माध्यमबाट तीनदेखि चार लाख मत आउने आकलन गरेको थियो तर त्यो मत पनि आएन । जनमत पार्टीका अनुसार गैरआवासीय मधेसी संघसँग विदेशमा मात्रै आबद्ध एक लाखभन्दा बढी सदस्यहरू छन् । उनीहरूले फोन गरेर आफ्नो बुबा, आमा र श्रीमतीको मात्रै मत दिन लगाएको भए ३–४ लाख मत आउन सक्ने अपेक्षा जनमतले गरेको थियो । तर ती मत कहाँ गयो र पार्टीलाई किन आएन भन्नेबारे खोजी गर्न थालेको जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘हामी दिनरात तिनीहरू (गैर आवासीय मधेसी)लाई उद्धार गर्न, सहयोग गर्न र रोजगारी दिलाउन प्रयत्नरत रहन्छौं, तर उनीहरूको मत किन आएन ?’ जनमत पार्टीको अनुमानित सदस्यता मात्रै ५ लाख बढी छ । सात लाख सदस्यता रसिद वितरणमा रहे पनि सबै ठेली कटेर फिर्ता आएको छैन । तीमध्ये आफ्नै सदस्यको मत किन आएन भनेर पनि जनमतले समीक्षा गरेको छ । त्यो मतको पनि खोजी भइरहेको छ ।

जनमतले भनेको छ, ‘विगत १० वर्षमा जसरी गाउँ–गाउँ घर–घरसम्मै जनता समक्ष डा. सीके राउत आफै पुगेर भेटघाट गर्नु भएको छ, सम्भवतः १५–२० लाख मान्छेहरूसँग उहाँ आफै प्रत्यक्ष सम्पर्कमा आउनुभएको थियो । १५–२० लाख मान्छेसँग त हातै मिलाउनु भएको होला ! भेट्ने क्रममा प्रायःले सकारात्मक र समर्थन दिने कुरै गरेका हुन्छन् । त्यसको सानो हिस्सा पनि मतमा किन बदल्न सकिएन रु’जनमत पार्टीको सशक्त उदय निश्चित भए पनि अहिले स्थानीय निर्वाचनमै किन भएन भनेर समीक्षा गर्न लागेको महासचिव सिंहले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार