काठमाडौं । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ ।
होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि बसेको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।
सो निर्णयलगत्तै कतिपयले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको सूचनासहितको बोर्ड राखेको तस्वीरहरु सार्वजनिक भएका छन् । तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यका अनुसार यसलाई व्यवस्थित ढंगले लैजान खोजिएको छ । त्यसका लागि आफ्नो शौचालय प्रयोग गर्न दिन इच्छुकहरुसँग महानगरपालिकाले औपचारिक रुपमा सम्झौता नै गर्ने आचार्यले बताउनुभयो।
‘उहाँहरुले निवेदन दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको शौचालय भएको स्थान, शौचालयको अवस्था सबै हेरेर उपयुक्त लाग्यो भने हामी फर्मल्ली एग्रिमेन्ट नै गर्छौं । त्यसको ढाँचा हामीले तयार पार्दैछौं ।’आफ्नो शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनेहरुले शौचालयलाई आवश्यक पर्ने पानी र सरसफाइको प्रवन्ध आफैं गर्नुपर्ने आचार्यले बताउनुभया । अनलाइनखबरबाट