काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनमा आफूमाथि आक्रमण प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गत वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर दुर्व्यवहार गरेको उहाँको भनाइ छ ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै लोसपा नेतृ चौधरीले दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘कानुनसम्मत दोषीलाई कारबाही हुनुपर्यो । कानुन सम्मत जेछ, त्यो न्याय मलाई चाहियो ।’ चुनावमा भोट माग्न किन आएको भन्दै आफूलाई आक्रमणको प्रयास भएको उहाँले बताउनुभयो । प्रहरीले सुरक्षा नदिएको भए ज्यान जान सक्थ्यो भन्दै उहाँले भन्नुभयो, ‘म माथि आज भएको छ, भोलि अरुमाथि हुनसक्छ ।
यस्ता दोषीहरु नबलियो होस् भन्ने माग गर्न चाहन्छु ।’ आफू २० मिटरको दुरीको अर्को घरमा रहेकाले जोगिएको उहाँले बताउनुभयो । ‘हतियार निकाल, यसलाई आज खत्तमै गर्नुपर्छ, यसको छोरीलाई मार्नैपर्छ भनेर मेरो आमालाई भनिएको बताउँदै उहाँले यस्तो पीडा आफ्नो परिवारले २७ वर्षदेखि भोग्दै आएको बताउनुभयो । २०५४ सालमा आफ्नो दाइलाई बेपत्ता पारिएको घटना स्मरण गर्दै उहाँले आफूमाथि पनि त्यस्तै गर्न खोजिएको आशंका गर्नुभयो ।
‘२७ गतेको दिनको जुन घटना, जुन दृष्य देखें, अझै पनि मेरो दिमागबाट गइरहेको छैन । त्यतिबेला म ४० मिनेटसम्म आफ्नै घरको अगाडिको अर्को घरमा मलाई प्रहरीले, पीएसओले सुरक्षा दियो । ४० मिनेटपछि जलेश्वरबाट एसपी आएर मलाई रेस्क्यु गरेको अवस्था छ,’ चौधरीले भन्नुभयो, ‘पुलिस प्रशासन नआएको भए मेरो ज्यान जाने थियो ।’ अनलाइनखबरबाट