काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिनुभयो ।
आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । बैठकपछि सम्पादकहरूसँगको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीमा पहिले भएको सहमति बमोजिम नै मन्त्रीहरू फेरबदल गर्ने निर्णय भएको बताउनुभयो ।
‘मन्त्रीहरू फेरबदलको विषयमा हामीले निर्णय गर्ने काम गरिसकेका छौँ । हामीले अहिलेका मन्त्रीहरूलाई छ महिनाको लागि मात्रै पठाएका हौँ । छ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भनेर चर्चा नचलेको पनि होइन, छ महिनासम्म त काम गर्न दिनुस् भनेर पनि उहाँहरूले नै भन्नुभएको हो, अहिले छ महिनामात्रै होइन, आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘मन्त्री फेरबदलमा केही ढिलाइ भइरहेको छ ।’
उहाँले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केही दिन समय मागेपछि मन्त्रिमण्डल हेरफेर गर्न ढिलाइ भएको बताउनुभयो । ‘कांग्रेस र माओवादी केन्द्रले केही दिन पर्खिन माग गरेकाले केही दिन पर्खिएका हौँ । आज पनि त्यसबारे छलफल भयो । प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भन्नुभएको छ,’ उहाँले भन्नुभयो । ekantipurबाट