बेनी। गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधि चुम्न सफल भएको हो । पोखरा रंगशालामा भएको फाइनलमा म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमश ः २५–१६, २५–१७ र १५–११ को अन्तरले पराजित गरेको हो ।
दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५–२१ र २५–१७ को अन्तरले पराजित भएको थियो । फाइनल खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । पर्वतकी पुजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधी पाउनुभयो । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले वेष्ट स्पाईक र रेविना घर्तिले वेष्ट सेटरको उपाधी पाएका जिल्ला खेलकुद विकास समितिका भलिबल खेल प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो ।
असार १४ गतेदेखि शुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो । बिजेता र उपबिजेताले क्रमश एक लाख र सत्तरी हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । म्याग्दीको टिममा मनिषा तिलिजा, रेजिना घर्ति, सस्मीता पुन, सृजना पाईजा, एलिसा रोका, पवित्रा सिर्पाली, अनिषा रोका, युमना बुढा, माया तिलिजा र काजल छन्त्याल मैदानमा उत्रनुभएको थियो ।
म्याग्दीको टिमको प्रशिक्षक मलिन रोका र व्यवस्थापनको जिम्मेवारी जिल्ला भलिबल संघका कार्यवाहक अध्यक्ष खड्क केसीले पाउनुभएको थियो । शनिबार बिहान भएको सेमि फाइनल खेलमा म्याग्दीले बागलुङलाई पराजित गर्दै पर्वतसँग फाइनलमा भेट पक्का गरेको थियो । बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पछिल्लो समय म्याग्दीका खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगितामा प्राप्त गरेको सफलताले जिल्लाका खेलप्रेमीहरु उत्साहीत भएका छन् । काठमाडौको किर्तीपुर नगरपालिकाले आयोजना गरेको मेयर कप अण्डर १८ राष्ट्रिय बास्केटबल प्रतियोगितामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको हो । एक पछि अर्को प्रतियोगितामा प्राप्त भएको सफलताले म्याग्दीका खेल क्षेत्रमा उत्साह छाएको छ ।