बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशनको एक करोड २० लाख ,लायन्स क्लब बेनी म्याग्दीको बीस लाख ५० हजार र लायन्स क्लब म्याग्दी दोभानको बीस लाख ५० हजार रुपैयाँ लागतमा उक्त भवन निर्माण सहित प्रयोगशाला स्थापना गरिएको हो ।विज्ञान प्रयोगशालाको लायन्स क्लब अन्तराष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गदैं म्याग्दीको पुरानो क्याम्पसको शैक्षिक अभियानमा लायन्स जोडिन पाउँदा खुसी लागेको बताउँछन् ।
म्याग्दी बहुमुखी क्याम्पसले भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञानका लागि छुट्टै कक्ष निर्माण गरी फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए । प्रयोगशालामा आधुनिक माइक्रोस्कोप सहित नयाँ उपकरणहरु समेत राखिएकाले जिल्लाभित्र विज्ञान विषयको अध्ययन र अनुसन्धानका लागि समेत सहज हुने छ।प्रयोगशालाले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने, शिक्षण सिकाइ क्रियाकलाप समेत प्रभावकारी हुने भएकाले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी छात्राबृद्धि सहितका आर्कषक प्याकेजहरूमार्फत समेत विद्यार्थीलाई आर्कषित गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले बताए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका गभर्नर चन्द्रकुमार केसीले हालसम्म लायन्स क्लबले म्याग्दी जिल्लामा विभित्र परियोजनामा १२ करोड रुपैया भन्दा धेरैको सहयोग गरेको बताए । विज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पस पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण सुबेदी,सञ्चालक समितिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । म्याग्दी क्याम्पसमा विभिन्न संकायमा एक हजार एक सय ९९ जना विद्यार्थी अध्ययनरत छन् । लायन्स क्लवका प्रोजेक्ट चियरपर्सन सन्तोष रावलले प्रयोगशालाको नियमित प्रयोगसँगै भविस्यमा समेत थप सहयोग गरिने बताए ।
यसअगाडी लायन्स क्लबको आर्थिक सहयोगमा बेनी नगरपालिका–९, तोरीपानीस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा चार करोडको दुईतले आठवटा कोठासहितको पक्की भवन विद्यालय समेत बनाइएको थियो । म्याग्दीमा सन् २००७ देखि लायन्स क्लबमार्फत शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहयोग गरिएको छ ।