नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २–१ को जित दर्ता गरेको हो ।एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २–१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो ।

खेलको १७ औं मिनेटमा नेपालले अग्रता लियो । बंगलादेशका गोलरक्षक मेहेदी हसन स्रबनले आफ्नो हाफको मध्य भागमा समिर तामाङको दबाबमा बल फुस्काए । समिरले त्यसपछि बल अघि बढाउँदै खाली पोस्टमा गोल गरे ।त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर पार्यो । अभिनाश स्याङतानले दायाँ विगंबाट दिएको क्रसलाई निराजन धामीले पहिलो टचमै गोल गरे ।४३ औं मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरे । राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । बंगलादेशले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । इन्ज्युरी समयको अन्तिम मिनेटमा गोलरक्षक जियारत शेखले फ्रिकिकमा आएको हेडरमा सानदार बचाउ गर्दै नेपालको जित पक्का गरे ।यससँगै नेपालको २ खेलमा ६ अंक भएको छ । बंगलादेश ३ अंकका साथ उपविजेता बन्दा श्रीलंका अंकविहिन रहँदै बाहिरियो ।समूह बी मा भारत र भुटानको समान ३–३ अंक छ । भारतले शुक्रबार समूहको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार