पहिरोले बेनी- दरबाङ सडक अवरुद्ध , पखेरमा दुई घर पुरिए

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । गयराती देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सदरमुकाम बेनी जोड्ने बेनी- दरबाङ सडक अवरुद्ध भएको छ ।मंगला गाउँपालिका-२, र बेनी नगरपालिका-४ ,को सीमानामा पर्ने फापरखेतको घुमाउने भीरमा पहिरो जाँदा शुक्रबार  सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

अन्य ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ ।त्यसैगरी फापर खेतको घुमाउने भीरमा पहिरो जाँदा पैदल हिँडेर सिमलचौर निस्कन प्रयोग गरिने मंगला गाउँपालिका-३, पखेरमा पनि पहिरो जाँदा स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन्। वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापा मगरले जानकारी दिए।

घर माथिबाट आएको पहिरोले दुई घरमा क्षति पुर्‍याए पनि बिहीबार लक्ष्मी र उनका छोरा अरुको घरमा पाहुना गएकोले कुनै मानवीय क्षति हुन नपाएको मगरले बताए। अहिले तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासीले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उनले जानकारी दिए। पानी पर्ने क्रम नरोकिएकोले अझै पनि पहिरो झरिरहेको उनले बताए।

वर्षा र बाढी पहिरोका कारण तीज निरसिलो बनेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि मानिस एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन्। पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी-दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन्।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर,सिम लगाएतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ।

‘बेनी-दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ। सडकमुनि म्याग्दी नदी छ। सडकमाथिको भिरमा गेगरैगेगर छ। खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन’, बेनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भगवान खड्काले बताए।

डेढ दशक देखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडकको फापरखेतको पहिरो झन् टाउको दुखाइ बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार