नयाँ स्वरुपको ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । नयाँ स्वरुपमा निर्माण भएको कर्णप्रिय ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । मंगलबार दिउँसो म्युजिक नेपालको युट्युव मार्फत सो गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो । म्याग्दी जेसीजले पुनर्निर्माण गरेको गीतको म्युजिक भिडिओको निर्देशन डिके चोचाङ्गी पुन मगरले गर्नुभएको छ ।

भिडिओ हेर्नुस् …

सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा रघुगंगा गाउँपालिका–७,चिमखोलाबाट सुरुआत भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ ।मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारले नृत्य र अभिनय गरेका छन् ।

 

टिकाबहादुर श्रेष्ठले रचना गरेको उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँकी श्रीमती मन छन्त्यालले पहिलोपटक बेनीको बजार गीत गाएको थियो । विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमासमेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो ।

वि.सं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाएको थियो । उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार