संविधान दिवसमा बेनी बजार सरसफाई

  म्याग्दी न्युज संवाददाता

बेनी  । संविधान दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनी बजार सरसफाई गरिएको छ । गत भदौ २५ गते जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले असोज २ देखि ४ गते सम्म संविधान दिवसलाई विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बुधबार बिहान करिब साढे सात बजेदेखि बजार सरसफाई गरेको हो । जिसस प्रमुख थापा , बेनी नगर प्रमुख सुरत केसी , प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल , म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ , सुरक्षाकर्मी , कर्मचारी लगायत स्थानीय बासीको सहभागिता रहेको थियो ।

कालिपुल बसपार्क देखि मंकाखलको भवन कालिगण्डकी नदी र म्याग्दी खोलाको सङ्गम स्थल बेनी दरबाङ बसपार्क सडक हुँदै बजार क्षेत्र सरसफाई गरिएको छ ।जिल्लामा विभिन्न कार्यक्रमहरु गरेर संविधान दिवस २०८१ मनाइने भएको छ । बैठकले असोज २ गते देखि ४ गते सम्म सबै सरकारी कार्यालयहरुमा विशेष सरसफाई गर्ने निर्णय गरेको थियो ।

असोज ३ गते विहान ७ बजे विरेन्द्रचोकमा जम्मा भई प्रभातफेरी गर्ने र साँझ सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको संयोजनमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।गाउँपालिकाहरुलाई स्थानीय पालिका प्रमुखको संयोजकत्वको संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम आयोजक समिति मार्फत विभिन्न कार्यक्रम गरिने भएको छ ।

सङ्घ,प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय,निकाय,प्रतिष्ठान,सङ्घ संस्थामा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने तथा असोज २,३ र ४ गते घरघरमा साँझ दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने अनुरोध समेत गरिएको छ ।

स्थानीय विद्युतीय तथा छापा संचार माध्यम मार्फत संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु उत्पादन,प्रकाशन तथा प्रशारण गर्न नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा मार्फत संचारगृह तथा पत्रकारहरुलाई अनुरोध गरिएको छ । यसैगरी सामाजिक तथा शैक्षिक सङ्घ संस्थाहरुले संविधान दिवस रचनात्मक कार्यक्रमहरु गर्न अनुरोध गरिएको जिससले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार