म्याग्दी । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्यद्वय गोविन्द्र पौडेल र नवराज शर्मा, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, निजामती कर्मचारी, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।
विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी हुलाकचोक, न्यूरोड, क्याम्पसचोक हुँदै संगमचोक, बालमन्दिर चोक भएर पुनः विरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधानसभाका सदस्य पौडेलले संविधान जारी भएको दश वर्षको अवधिमा संविधान भित्रका अन्तर वस्तुका बारेमा छलफल र बहस सुरु भएको बताउनुभयो । संविधानलाई कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो ।
भिडिओ हेर्नुहोस्…
यस्तै, संविधानसभा सदस्य शर्माले राजनीतिक स्थिरता कायम गर्न संविधानमा भएका कमीकमजोरीहरूलाई सुधार गरेर संविधानको संशोधन गर्न आवश्यक भएको उहाँले बताउनुभयो । संविधान संशोधनका विषयमा अहिले भएको बहसले सार्थकता पाए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उहाँको भनाइ छ ।संविधान दिवसलाई भव्य रूपमा मनाउने क्रममा अघिल्लो बुधबार बेनीमा सरसफाइ गरिएको थियो । जिल्लाका स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर बिहीबार संविधान दिवस मनाउँदै छन् । संविधान दिवसका दिन आज साँझ सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको संयोजनमा विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो ।
सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय, निकाय, प्रतिष्ठान, सङ्घसंस्थामा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने तथा असोज २, ३ र ४ गते घरघरमा साँझ दीप प्रज्ज्वलन गरेर संविधान दिवस मनाउने निर्णय भएको जिसस प्रमुख थापाले बताउनुभयो ।सरकारले संविधान जारी भएको आजको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।