पत्रकार महासंघद्धारा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा

  म्याग्दी न्युज संवाददाता

बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।

पत्रकारको लागि शिखर इन्स्योरेन्स कम्पनीमार्फत १० लाख बराबरको दुर्घटना बिमा गर्ने र बिमा शुल्क पत्रकार महासंघले ब्यहोर्ने अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । ‘कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् तर भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गरिएको हो’ अध्यक्ष गौतमले भन्नुभयो ।

पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याक खड्का, निर्वतमान अध्यक्ष एवम् पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पूर्व अध्यक्ष तारानाथ शर्माको बिमा गरी शुभारम्भ गरिएको तथा बाँकी अन्यको पनि क्रमशः बिमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमको भनाई छ ।

आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यबिधि बनाएर व्यवस्थित गरिने छ । यो बीमाअन्तर्गत दुर्घटनाबाट कुनै पत्रकार कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामका बेला कुनै पनि प्रकारका दुर्घटनामा परि मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयासम्मको प्रिमियम उपलब्ध गराइने छ । दुर्घटनाबाट घाइते भएमा उपचारका लागि १ लाख रुपैयासम्मको लाभ पाउनेछन् ।

यसैबीच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गरिने भएको छ । पत्रकार महासंघ म्याग्दीले आधारभुत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो ।

पत्रकार महासंघ म्याग्दीले जिल्लामा विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रित भएर बहस तथा जनसरोकारको क्षेत्रमा प्राथमिकता दिने अध्यक्ष गौतमको भनाई छ । जिल्लामा अलपत्र परेका विकासे योजना तथा सेवाप्रवाहमा देखिएको ढिलासुस्ती बिरुद्ध खवरदारी समेत गरिने छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए । पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा अमृत बास्कुने र अमित बिश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य, उपसचिव प्रताप बानियाँ र सन्दिप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली एवम् सदस्यहरुमा कमल खत्री,राकेश शर्मा र केन्द्रिय प्रतिनिधि परिषद् सदस्य पदमा विनोद धौलागिरी निर्विरोध निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार