वित्त आयोगको कार्यसम्पादनमा बेनी नगरपालिका गण्डकीमा पहिलो , देशभरमा दोस्रो

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा गण्डकी प्रदेशमै पहिलो र देशरभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा नगरपालिका गण्डकी प्रदेशमा पहिलो र देशभरमा दोस्रो भएको हो ।

बेनी नगरपालिका सहित स्थानीय तहले प्राप्त गरेका कार्यसम्पादन मुल्याङ्कनको नतिजा हेर्न यहाँ लिङ्कमा क्लिक गर्नुहोस् ।

आयोगले देशभरका स्थानीय तह र सात वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कार्यसम्पादनलाई १७ वटा सूचकको आधारमा मूल्याङ्कन गरेर अन्तिम नतिजा सार्वजनिक गरेको हो । यसअघि माघ ३० गते प्रारम्भिक नतिजा सार्वजनिक गरेको आयोगले छुटेका कागजात पेश गर्न सात दिनको समय दिएको थियो ।

प्रारम्भिक नतिजामा ६७.२७ अंक प्राप्त भएकोमा छुटेका कागजात पेश गरेपछि अन्तिम नतिजामा ८०.१७ अंक प्राप्त भई गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमा पहिलो र देशभरका सात सय ५३ स्थानीय तहमा दोस्रो स्थान हाँसिल भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा डडेल्धुराको अमरगडी नगरपालिकाले ८१.६६ अंक प्राप्त गरि देशभर पहिलो भएको छ भने इलामको सुर्योदय नगरपालिकाले ८०.०५ र अर्घाखाँचिको सन्धिखर्क नगरपालिकाले ८०.१३ अंक प्राप्त गरेका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिकाले ६९.५, धवलागिरीले ४०.९, रघुगङ्गाले ६९.४, मालिकाले ६८.७ र अन्नपूर्ण गाउँपालिकाले ६० अंक पाएको छ । गण्डकी प्रदेशमा बेनी नगरपालिकापछि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको छ ।आयोगले असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्याङ्कन गरेको हो ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १–६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

कार्यसम्पादन मूल्याङ्कन नतिजाले आयोगले प्रदान गर्ने वित्तीय समानीकरण अुनदान बढाउन सहयोग पुग्ने नगरपालिकाको भनाइ छ । कर्मचारी र जनप्रतिनिधीहरुबीच समन्वय, सेवा प्रवाहमा प्रविधिको प्रयोग, मापदण्ड र प्रक्रीयाको पूर्ण पालना गरिएकाले राम्रो नतिजा प्राप्त भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार