म्याग्दीमा होली पर्व मनाइयो

  म्याग्दी न्युज संवाददाता

बेनी । रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली)पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो । होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरु दलेर शुभकामना साटासाट गरी होली पर्व मनाएका छन् ।

सबै फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्

होली पर्वमा साना बालबालिका, युवापुस्ता, शिक्षक, विद्यार्थी, सर्वसाधारण, उद्योगी, व्यापारी, कर्मचारी, संघसंस्था लगायतले सहभागिता जनाएका थिए । होलीमा विभिन्न प्रकारका रङ लगाउँदै म्युजिकको तालमा गाउँदै, नाच्दै युवापुस्ता र बालबालिकाहरु रमाए।स्कुले बालबालिकाहरुले समेत आ–आफ्नो अनुहारमा विभिन्न किसिमका रङहरु दलेर होली पर्व मनाएका छन् । बेनीबजारका सडक तथा गल्लीसँगै घरका ब्रान्ड र छतबाट पानी छ्याप्ने, लोला हान्नुका साथै अबिर फ्याँकेर रमाइलो गरिएको थियो । यसैगरी अण्डा समेत प्रहार गरिएको थियो ।होलीमा सहभागी युवाहरु गीतसङ्गीतमा छमछमी नाचेका थिए । बेनीबजारसहित जिल्लाको अन्य बजार क्षेत्रमा होली विशेष कार्यक्रम गरिएको छ ।

यसैबीच म्याग्दी जेसीजको आयोजनामा खुल्लामञ्चमा होली विषेश कार्यक्रम गरिएको छ । गायक सम्भोज मल्ल, चन्द्र पुन लगायतको प्रस्तुत रहेको थियो । होलीलाई लक्षित गरी प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको थियो । म्याग्दीमा शान्तिपूर्ण रुपमा होली पर्व मनाइएको र अप्रिय खालको कुनै पनि घटना नघटेको म्याग्दी प्रहरीले जनाएको छ ।नेपालमा प्रचलित विभिन्न संस्कृतिहरुमध्ये होलीको आफ्नै किसिमको महत्व रहेको छ । रङहरूको पर्व होलीको दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रुपमा पनि होली मनाउने गरिएको पाइन्छ ।

होलीमा लगाइने रङहरुको आ–आफ्नै विशेषता रहेकाले अरुको भावना विपरित रङ लगाउनु पर्वको मान्यताभन्दा बाहिर हुनेहुँदा सहमति र सहकार्यका लागि होली पर्वको महत्व रहेको छ ।हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होलीको आफ्नै खालको विशेषता रहेको छ । थकाली समुदायमा प्रमुख चाडका रुपमा मानिने हुँदा उनीहरुले मङ्गलबारदेखि नै होली पर्व मनाउन सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार