
बेनी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक/एक बर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार , न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित नाम ४३ (व), ४३ (त) र ४३ (फ)लाई १ बर्षको सजाय तोकिएको छ । उनीहरू हत्याको घटनामा मतियारको रूपमा दोषी ठहर भएका व्यक्तिहरू हुन्।अभियुक्तले पुर्पक्षका लागि १ बर्ष दुई महिना कारागार र सुधार केन्द्रमा विताएकाले बुधबार नै रिहा भएर परिवारको सम्पर्कमा गएका छन् ।
यो पनि…
बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना ७ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला अदालत म्याग्दीले जनाएको छ । १४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने कानुनी ब्यवस्था रहेको छ ।त्यसैगरी , मुख्य अभियुक्तबाट जनही एक लाख रुपैयाँ र बाँकी ९ जनाबाट जनही २५ हजार रुपैयाँका दरले मृतकका नजिकका हकदारलाई क्षतीपुर्ति भराउने समेत फैसला गरेको छ ।रघुगङ्गा गाउँपालिका–१, बेग घर भई बेनी नगरपालिका–८, पिपलचोकका २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो । २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र ५ नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो ।
यसअगाडी गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । ६ जनालाई जन्मकैद (जनही २५ वर्ष) शंकर घर्ती, अमृत पुर्जा,सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय भएको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो । ०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो । १७ जना मध्ये नाबालक र साबालक गरी दुई जना अझै फरार रहेका छन् ।फरार रहेकामा गगन गर्बुजा र ४३(ह) रहेका छन् ।