
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले र वडा नम्बर–७, चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरी कार्यक्षेत्रमा मेसिन बोकेर हिड्ने क्रममा आइतबार दिउँसो साढे १ बजे कामबाट फर्किने क्रममा अचानक बेहोस भई ढल्नुभएको थियो ।
उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, आइतबार साढे चार बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार, सिविएम डब्लुई कम्पनी मार्फत आयोजनामा जोडिनुभएको थियो । मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । आयोजनाको निर्माणाधिन बाँधस्थल बन्दीघाँटी क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो ।
यसैबीच कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका छन् । कम्पनीको लापबाहीको कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाई नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले अडान लिएका छन् । हरिओमको शव अहिले बेनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतक चौधरीका बुबाआमा,एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागि समेत आनकानी गर्ने गरेका छन् । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।
मृतक हरिओम चौधरी । तस्बिर सौजन्य : कमलबाबु चौधरी