रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास(भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । २७ जना जग्गादाताहरूले निःशुल्क रूपमा उपलब्ध गराउनुभएकाे  जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी हुने बताउनुभयो ।

भिडिओ हेर्नुहोस…

उहाँका अनुसार २७ जना स्थानीयको जग्गा व्यवस्थापन भएको २५ रोपनीमध्ये १४ रोपनी क्षेत्रफल जमिनमा प्रशासकीय भवन निर्माण हुन लागेको हो । अध्यक्ष भण्डारीले जग्गाधनीसँग मञ्जुरी लिएर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाड गरिएको बताउनुभयो । धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर करिब ६ रोपनी क्षेत्रफलमा आठ मिटर फराकिलो सडक बनाइएको छ भने बिचको जग्गा गाउँपालिकाको भवन बनाउन लागिएको हो ।

माथिल्लो र तल्लो भागको करिब ६ रोपनी जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ ।यसअघि जग्गा ब्यवस्थापनका लागि उपभोक्ता समिति बनाइएको थियो । जग्गा व्यवस्थापन र विकास गर्न एक करोड ५० लाख रुपियाँभन्दा बढी खर्च भएको छ । हाल बहुद्देश्यीय भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।गाउँपालिकाका सवइन्जिनियर कमलबहादुर चोखालका अनुसार गाउँपालिका केन्द्र वडा नम्बर ३ मौवाफाँटमा निर्माण हुने तीन तले भवनको कुल नौ करोड ४० लाख ४४ हजार रुपियाँ लागत रहेको छ । पहिलो चरणमा ढलानसहितको पहिलो तलाका लागि गाउँपालिकाबाट विनियोजित दुई करोड रुपियाँको ठेक्का आह्वान गरिएकोमा प्रतिस्पर्धाका क्रममा कम कबोलेको मातृभुमी डेभलपर्स एण्ड इन्जिनियरिङ्ग प्रालि काठमाडौँसँग गत वैशाख १० गते एक करोड ३१ लाख ९८ हजार रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यही असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ ।

भुँइ तलामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहितको ११ कोठा, दोस्रो तलामा उपाध्यक्षको कार्यकक्षसहितको ११ र तेस्रो तलामा सभाहलसहितको ३५ कोठे भवन निर्माण हुनेछ । थप बजेट व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारसँग समन्वय र पहल भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । हाल कार्यालय संचालित सहभाहल सहितको बहुद्देश्यीय भवनलाई आवासीय भवनको रुपमा प्रयोग गरिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार