थकाली सेवा समिति बेनी क्षेत्रको अध्यक्षमा शेरचन

  म्याग्दी न्युज संवाददाता

बेनी ।थकाली सेवा समिति बेनी क्षेत्रको १७ औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सुन्दरमान शेरचनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा योगेन्द्रमान शेरचन, शान्ति भट्टचन, सचिवमा दिलिप गौचन, कोषाध्यक्षमा लिलप्रसाद गौचन र सहकोषाध्यक्षमा सुष्मा भट्टचन चयन हुनुभएको छ ।

सदस्यहरुमा तेजिन्द्र शेरचन, हिमाल शेरचन, विश्व शेरचन, मन तुलाचन, गोकुल गौचन, पूर्ण गौचन, दिलकुमारी गौचन, आशा शेरचन र गंगा प्रसाद शेरचन रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले आत्मनिर्भर, मेहनति र इमान्दार पहिचान बनाएका थकाली समुदायको भाषा, संस्कार, संस्कृति र रहनसहनको संरक्षणमा जोड दिनुभयो ।

बेनी नगरपालिका –७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बेनी नगरपालिकामा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा न्युन भएता पनि संस्कार र संस्कृति लोप हुन नदिन निरन्तर सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा थकाली सेवा समितिका केन्द्रिय सल्लाहकार गोपाल भट्टचन, केन्द्रिय सदस्य शंकरमान शेरचन, थकाली युवा समाजका निवर्तमान केन्द्रिय सहसचिव दिलिप शेरचन, दाना–तातोपानी क्षेत्रका सचिव जिवन तुलाचनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालक समितिका सचिव योगेन्द्रमान शेरचनले पछिल्लो कार्यकालमा ३६ लाख ११ हजार दुई सय ४४ आम्दानी, २१ लाख ७६ हजार खर्च र १४ लाख ६३ हजार बचत रहेको जानकारी गराउनुभयो । समितिका अध्यक्ष जगत नारायण गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुन्दरमान शेरचनले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, उत्तरी अन्नपूर्ण गाउँपालिकाको दाना र भूरुङ–तातोपानी तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा गरी जिल्लाभर झण्डै १ सय १५ घरधुरीको हाराहारीमा थकाली समुदायको बसोबास रहेको छ।यसैगरी नेपालमा १९ क्षेत्र तथा अष्टेलिया, हङकङ र अमेरिकामा एक–एक क्षेत्र रहेको छ । नेपालमा पछिल्लो जनगणनाअनुसार थकालीको जनसंख्या १३ हजार छ। थकालीलाई सरकारले अल्पसंख्यक जातिमा सूचीकृत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार