
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजनी एण्ड रोशनी निर्माण सेवा प्रालिको नाममा रहेको प्रदेश नम्बर २-०३-००१ (क) १५८८ नम्बरको एक्साभेटरका चालक अन्दाजी ३३ वर्षीय खेमराज कुमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका– ८ ,घर भएका एक्साभेटर चालक कुमैको शव एकसाभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शब परिक्षणको लागि प्रादेशिक अस्पताल बेनी ल्याइदै छ ।जिप्रका म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर पौडेलका अनुसार , घटनापछि प्रहरी र स्थानीयबासीले एक्साभेटर चालकको शब पहिरोबाट बाहिर निकालेका थिए ।
मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रुपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलब ५ मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजनाले पेनस्टक पाइप राख्नका लागि अहिले लाम्पुस भिरमा सडक निर्माण गरिरहेको छ ।