राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा

  म्याग्दी न्युज संवाददाता

बेनी । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको उक्त आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणका कार्यकारी निर्देशकसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा नेपालका लागि भारतीय राजदूत र अन्य उच्चपदस्थ अधिकारीले आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
यो आयोजनाको कुल अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख रुपैयाँ बराबर छ । आयोजनामा एक्जिम बैंक अफ इन्डियाको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी रहेको छ । बाँकी रकम नेपाल सरकार तथा प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ ।

आयोजना आगामी पुस महिनामा सक्ने लक्ष्य छ । आयोजना निर्माण कार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य र इलेक्ट्रो–मेकानिकल कार्य गरी दुई लटमा विभाजन गरिएको छ ।

आयोजनाको लट–१ सिभिल तथा हाईड्रोमेकानिकल काम जयप्रकाश एशोसिएट लिमिटेड इण्डियाले ठेक्का लिएको छ । सिभिल कार्य अन्तर्गत बाँध, इन्टेक, डिस्यान्डर, टनेल, सर्ज साफ्ट, प्रेसर साफ्ट, विद्युत्गृह लगायत काम समावेश छन् । हालसम्म सिभिल कार्य अन्तर्गत करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस आयोजनाको लट–२ इलेक्ट्रोमेकानिकल कामको जिम्मा भारत हेलिइलेक्ट्रिकल लिमिटेडले लिएको छ । इलेक्ट्रोमेकानिकल लट अन्तर्गत टर्बाइन, जेनेरेटर, गभर्नर, ट्रान्सफर्मर लगायत उपकरण आपूर्ति तथा जडान कार्य भइइहेको छ ।

हालसम्म इलेक्ट्रोमेकनिकल कार्य अन्तर्गत निर्माण व्यवसायीको प्लान्टमा भएका विभिन्न यन्त्र उपकरण निर्माण तथा त्यसको सफल परीक्षण, निर्माण स्थलमा भइसकेको आपूर्ति प्रगति र जडान भइसकेको प्रगतिका आधारमा इलेक्ट्रोमेकानिकल कार्य प्रगति करिब ५० प्रतिशत रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा लुप–इन, लुप–आउट प्रणालीबाट प्रसारण गरिने भएको छ । यसको काम सम्पन्न भइसकेको छ ।

आयोजना सम्पन्न भएपछि ऊर्जा आपूर्तिको समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुग्नुका साथै स्थानीय स्रोत साधन सदुपयोग र राष्ट्रिय आर्थिक सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको प्राधिकरणले लेखेको छ ।onlinekhabar

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार