उर्जा राज्यमन्त्री गर्बुजाको पहलमा म्याग्दी क्याम्पसका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण(तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

क्याम्पस र स्ववियुको समन्वयमा विद्यार्थीहरुलाई चुलो वितरण गरिएको छ । क्याम्पस संचालक समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,उपाध्यक्ष प्रेमबहादुर कार्की ,क्याम्पस प्रमुख श्रीधर सुवेदी ,स्ववियु सभापति संगम चोखाल क्षेत्री लगायतले चुलो वितरण गर्नुभयो । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको पहलमा पहिलो चरणमा करिब तीन सय जना विद्यार्थीलाई चुलो वितरण गरिएकाे स्ववियु सभापति संगम चोखाल क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिलो चरणमा आर्थिक रुपमा कमजोेर र दुर्गम क्षेत्रका विद्यार्थीलाई वितरण गरिएको छ । चुलो वितरण गर्दैै अध्यक्ष श्रेष्ठले ग्रामिण भेगबाट आएर बेनीमा बसेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने बताउनुभयो ।

चुलो ल्याउन सहयोग गर्ने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दै म्याग्दी क्याम्पस सँगै मङ्गला शिक्षा क्याम्पसका सबै विद्यार्थीलाई चुलो उपलब्ध गराउन सहयोग गर्न राज्यमन्त्री गर्बुजासँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘‘सबै विद्यार्थीको आर्थिक अवस्था उस्तै छैन । धेरैजसो ग्रामिण भेगबाट आएर यहाँ अध्ययन गर्ने भएकोले विद्युतीय चुलोले उनिहरुको दैनिकीमा ठुलो टेवा पुग्नेछ । काठमाडौं उपत्यकामा मात्र वितरण गरिंदै आएकोमा पहिलोपटक म्याग्दी क्याम्पसका विद्यार्थीलाई चुलो उपलब्ध गराउन पहल गर्नुहुने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दछु ।’’ क्याम्पस प्रमुख श्रीधर सुवेदी ,स्ववियु सभापति संगम चोखाल क्षेत्री लगायतले विद्युतीय चुलो ग्यासको तुलनामा धैरै सस्तो र सुरक्षित हुने भएकोले विद्यार्थी ठुलो सहयोग पुग्ने बताउनुभयो । राज्यमन्त्री गर्बुजा  म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस सभापति समेत हुनुहुन्छ ।

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका–४,मुदी बगरका शेरबहादुर सुनार र सोही गाउँपालिका–५, मराङकी रोजीना सुवेदीले ग्यासको तुलनामा धेरै सस्तो हुने भएकोले इन्डक्सन चुलोले आफुहरुलाई सहज हुने बताउनुभयो । निःशुल्क चुलो प्राप्त गरेपछि खुशी हुँदै उहाँहरुले भन्नुभयो ,‘‘विद्युतीय चुलो सस्तो र सजिलो हुन्छ । ग्यास बाल्नुभन्दा इन्डक्सन चुलो प्रयोगले हामीलाई ठुलो टेवा पुग्नेछ ।’’ क्याम्पसमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् । स्ववियु सचिव मन्जुर कटुवाल क्षेत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

भिडिओ हेर्नुहोस्

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार