तीन वटा खानेपानी योजना मार्फत चार सय घरमा खानेपानी सुविधा विस्तार

  म्याग्दी न्युज संवाददाता

बेनी  ।म्याग्दीको मालिका गाउँपालिका–३,का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ ।मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । ति आयोजनाहरुबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुक्सीपारका ५३ घर परिवार लाभान्वित भएका वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।
दुई करोड १४ लाख रुपैयाँको लागतमा निर्माण भएका तीन वटै योजनाको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । आयोजनाहरुको सामाजिक परिक्षण पनि गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा आयोजना निर्माण सम्पन्न भएर आइतबार मालिका गाउँपालिका अध्यक्ष गर्बुजाले खानेपानी आयोजनाको औपचारीक उद्घाटन गर्नुभएको नेपाल स्वास्थ्यका लागि पानी(नेवा)का सुरेन्द्र चन्दले जानकारी दिनुभयो । खानेपानी धारा निर्माण सम्पन्न भए पछि धारामा पानी नियमित हुन थालेपछि उद्घाटन गरीएको चन्दको भनाइ छ ।
नेवाको ३३ लाख ३७ हजार तीन सय २५ रुपैयाँ र मालिका गाउँपालिकाको १४ लाख ७२ हजार ५३ रुपैयाँ अनुदान प्राप्त भएको पात्लेको योजना निर्माणका लागि उपभोक्ताले १७ लाख आठ सय ९९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।मालिका गाउँपालिकाको २४ लाख ८५ हजार पाँच सय ९६ रुपैयाँ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा) को ५६ लाख एक हजार तीन सय ६६ रुपैयाँ अनुदान तथा उपभोक्ताहरुको २९ लाख १३ हजार एक सय २४ रुपैयाँको लागतमा डाडागाउँ बोक्रे खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना निर्माण भएको हो ।
(नेवा)को १७ लाख ७४ हजार सात सय २९ रुपैयाँ, मालिका गाउँपालिकाको ९ लाख ९५ हजार पाँच सय नौ रुपैयाँ र उपभोक्ताको ११ लाख ५३ हजार दुई सय ५० रुपैयाँ बराबरको श्रमदानमा लुक्सीपार पौठेखोला खानेपानी योजना निर्माण भएको हो ।सर्वसाधारणका घरका साथै स्वास्थ्य संस्था र विद्यालयमा पनि खानेपानी धारा जडान गरिएको छ । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झञ्जट हट्नुका साथै घरायसी कामकाज सहज भएको पात्लेका बलबहादुर रोकाले बताउनुभयो ।
खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए । तीन वटा मुहानबाट पानी सकल गरेर २१ हजार चार सय ६८ मिटर पाइप मार्फत गाउँमा पानी वितरण गरीएको खानेपानी आयोजनाका अध्यक्ष हिराबहादुर पुनको भनाइ छ । बिहानै उठेर घण्टौं हिडेर पानी लिन जान पर्ने स्थानीय जनताको बाध्यता खानेपानी आयोजनाले अन्त्य गरेको उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार