
बेनी । म्याग्दीका सडकमा बर्खायामभरी रातीमा यातायातका साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।बाढी , पहिरोको कारणबाट यात्रु, सवारी साधन तथा जीउधनको हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि सतर्कता अपनाउन र रातीकालिन समयमा सवारी साधन नचलाउन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सोमबार सार्वजनिक सूचना जारी गर्दै म्याग्दीको प्रमुख बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–बागलुङका साथै अन्य सहायक सडकहरुमा रात्रीकालिन समयमा सार्वजनिक/निजी यात्रुबाहक सवारी साधनहरु सञ्चालन नगर्न/नगराउन अनुरोध गर्नुभएको छ ।बर्षातको समयमा पहिरो, ढुङ्गा खस्ने र कटान तथा बाढीले सडक बगाउने भएकाले दुर्घटनाको जोखिम आँकलन गरेर सरोकारवालाको बैठकले रातमा सवारी नचलाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री लगायत जनप्रतिनिधी, प्रजिअ ढकालन लगायत सुरक्षा अधिकारी र यातायात ब्यवसायीहरुको बैठकले रातीमा यातायात बन्द गर्ने निर्णय गरेको हो ।