मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,घाङलेपानीमा एक सय तीन, धुल्वाङमा एक सय ६२ र खवाङमा ७३ वटा नीजि धारा निर्माण गरेर घरघरमा खानेपानी सुविधा उपलब्ध गराइएको हो ।आर्थिक वर्ष २०८०/०८१ मा ठूलोरुमका दुई सय ७३, कलात भनारीमा ७४ र विल्वाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको थियो । पछिल्लो दुई आर्थिक वर्षमा मालिकाको वडा नम्बर २ का सात सय ४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

आयोजनाहरुको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । योजना उद्घाटनका साथै सार्वजनिक लेखा परिक्षण, सफा र स्वच्छ समुदाय पनि घोषणा भएको छ । पानीको मितब्ययी, व्यवस्थित र दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको छ ।यसअघि स्थानीयबासीले सार्वजनिक धाराबाट पाइप, गाग्री, ग्यालीन, बोत्तल र ड्रममा पानी ओसारेर प्रयोग गर्दै आएका थिए । घरआगनकै धारामा पानी आउन थालेपछि समयको बचत भएको र झञ्जट हटेको छ ।

कुल ३८ लाख ९१ हजार ३१ रुपैयाँ लागत अनुमान गरिएको खबाङ्ग शेरेधारा खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाबाट खवाङका ७३ घरपरिवार लाभान्वित भएका छन् । यो योजनामा नेवाको १५ लाख ६० हजार रुपैयाँ, मालिका गाउँपालिकाको ११ लाख ९९ हजार ९४ रुपैयाँ लगानी र उपभोक्ताको ११ लाख ३१ हजार एक सय ३७ रुपैयाँ बराबरको श्रमदान रहने जनाइएको छ ।कुल ७९ लाख ९७ हजार पाँच सय ५२ रुपैयाँ लागत अनुमान गरिएको धुल्वाङको खानेपानी सरसफाई तथा स्वच्छता योजनाबाट एक सय ६० वटा घर र दुई वटा विद्यालयमा निजी धारा जडान भएको छ । उक्त योजना निर्माणमा नेवाबाट ३८ लाख ९३ हजार ४४ रुपैयाँ , गाउँपालिकाबाट १७ लाख ९३ हजार दुई सय ८१ रुपैयाँ सहयोग र उपभोक्ताको २२ लाख ११ हजार दुई सय २७ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

५२ लाख ८३ हजार दुई सय ६८ रुपैयाँ लागत अनुमान गरिएको घाङलेपानी खानेपानी सरसफाई तथा स्वच्छता आयोजना मार्फत एक सय दुई वटा घर, तीन वटा विद्यालय र एक वटा स्वास्थ्य संस्थामा धारा निर्माण भएको छ । यस योजना निर्माणमा नेवाको २६ लाख १७ हजार एक सय ६६ रुपैयाँ , गाउँपालिकाको १२ लाख ९८ हजार सात सय १५ रुपैयाँ सहयोग र उपभोक्ताको १३ लाख ६७ हजार तीन सय ८७ रुपैयाँ बराबरको श्रमदान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार