
बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीले प्रदेश खेलकुद परिषद्द्धारा आयोजनामा गोरखामा गत जेठ २६ र २७ गते सम्पन्न भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण ,रजत र कास्य विजेता खेलाडीहरुलाई नगद सहित सम्मानपत्रले सम्मान गरेको छ । बुधबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच विभिन्न विधामा स्वर्ण पदक विजेता ११ ,रजत पदक विजेता ९ र २४ जना कास्य पदक विजेता खेलाडीलाई जनही क्रमशः तीन हजार ,दुई हजार र एक हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो ।यसैगरी सोही अवसरमा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई पनि नगद पन्ध्र हजार रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ । संघीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले नगद ,सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
राज्यमन्त्री गर्बुजाले खेलाडीहरुलाई सम्मान गरेर खेलकुद विकास समितिले हौसला थपेको बताउनुभयो । खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी उहाँले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सबैले हौसला प्रदान गर्नुपर्नेमा जोड लिनुभयो । कार्यक्रमा खेलकुद विकास समिति अध्यक्ष सुमन श्रेष्ठले खेलाडी र प्रशिक्षकलाई थप हौसला प्रदान गर्ने उद्धेश्यले सम्मान गरिएको बताउनुभयो ।खेलाडी, अफिसियल सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक सुर्य थापा, राष्ट्रि«य अनुसन्धान कार्यालयका प्रमुख विजय पौडेल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल, विभिन्न संघसंस्थाका प्रतिनिधि सहित खेलाडीको उपस्थिती रहेको थियो ।
बेनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रमेश श्रेष्ठ ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम,म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ,म्याग्दी क्याम्पस स्ववियु सभापति संगम चोखाल लगायतले बोल्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विष्णु रोकाको स्वागत र सचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा भलिबल खेलाडीहरु र प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो ।