
बेनी । म्याग्दीको बेनी नगरपालिका–८ डल्लेपिपल स्थित बसपार्कमा रात्रीकालीन संयुक्त चेकजाँचका क्रममा स्कुटर चालक घाइते भएको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा घटनाको सत्यतथ्य पत्ता लगाउन उपसमिति गठन भएको हो ।
साउन २४ गते राती ८ः४० बजेको समयमा गलेश्वर देखी बेनीबजार तर्फ आउँदै गरेको ग १७ प ८२५७ नम्बरको स्कुटर चालक बेनी नगरपालिका–४ सिंगा तातोपानीका २५ बर्षिय दिनेश मिजारको आँखामा चोट लागेको थियो ।
चेकजाँचको लागि रोक्ने क्रममा स्कुटर चालक मिजारलाई प्रहरीले हातमा रहेको चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीद्धारा जारी प्रेस नोटमा उल्लेख छ । घाइते मिजारलाई तत्काल बेनी अस्पतालमा सामान्यउपचार पश्चात पोखरास्थित हिमालय आँखा अस्पताल त्यसपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । घाईते स्कुटर चालक मिजारका आँखाको शल्यक्रिया पश्चात मंगलबार डिस्चार्ज भएर फलोअफका लागि एक सातापछि बोलाएको छ ।
मापासे गरेर गलत दिशाबाट आएको स्कुटर रोक्न खोज्दा चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीको दाबी छ । पीडित मिजारका बुबा दिलबहादुर सार्कीले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । घाईते मिजारको उपचारसँगै उपसमितिले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गरेपछि दोषी देखिएमा कारबाही गरिने प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताउनुभयो ।