दरबाङदेखि रुन्मा जाने क्रममा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु ,तीन जना घाइते

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,रुन्माको नेयाँबोट स्थित ठुलडादर भन्ने ठाउँमा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गाउँपालिका वडा नम्बर ६ दरबाङदेखि घर (वडा नम्बर ५ रुन्मा गाउँ) फर्किने क्रममा बुधबार दिउँसो करिब तीन बजेको समयमा ग २ च ४३९२ नम्बरको बलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा रुन्माकी ४३ वर्षकी छनदेवी पुन फगामी मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार, जिपमा चालक सहित चार जना सवार थिए । घाइते हुनेहरुमा सोही रुन्माका ४० वर्षिय बलेरो चालक चन्द्र पुन मगर ,१४ वर्षिया श्रीजना घर्ती मगर र ७३ वर्षिय भविराज फगामी रहनुभएको छ । घाइतेहरु मध्ये श्रीजनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने दुई जनाको मध्यम रहेको छ । घाइतेहरुको दरबाङ आधारभुत अस्पतालमा उपचार भइरहेको छ । जिप सडकदेखि करिब ४० मिटर तल खसेको थियो । मृतक छनदेवीका श्रीमान सहित एक छोरा एक छोरी हुनुहुन्छ । घाइतेहरुको हात,खुट्टा र टाउँकोमा चोट लागेको छ । मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बेनी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार